Regd.No.: 2325/051/052

शिक्षा क्षेत्र जागिर खाने ठाउँ हैन : मन्त्री पोखरेल

माघ २, २०७५ टीकाप्रसाद भट्ट

लखनपुर (रामेछाप) — शिक्षा, विज्ञान तथा प्रवृधि मन्त्री गिरीराजमणि पोखरेलले शिक्षा क्षेत्र जागिर खाने नभई राष्ट्र बनाउने ठाउँ भएको बताएका छन् । ‘सक्नुहुन्छ बालबालिकाहरुको भविष्य बनाउनुस्, सक्नुहुन्न बिदा भएर जानुस्’ पोखरेलले भने बालबालिकाहरुको भविष्य माथि खेलबाड गर्ने अधिकार कोहीसँग छैन । 

 
भूकम्प राष्ट्रिय सुरक्षा दिवसको दिन पारेर बुधबार रामेछापको लखनपुरमा पुनर्निर्माण भएका कालिका मावि र भिमेश्वर माविको नवनिर्मित भवन उद्घाटनका लागि पुगेका पोखरेलले भूकम्पीय जोखिम जहिल्यै पनि आउने भएकाले विद्यालय, स्वास्थ्य संस्था र अन्य भवनहरु भूकम्प प्रतिरोधि सुरक्षित बनाउने अभियान सञ्चालन गरेको बताए ।
 
उनले पछिल्लो समय सामुदायिक विद्यालयको संरचना निर्माणका लागि करोडौं लगानी गरेकोले त्यसको संरक्षणमा स्थानीयले सहयोग गर्नुपर्ने बताए । ‘विद्यालयका भवन राम्रो भएर मात्र पुग्दैन’ पोखरेलले भने, 'सबैको ध्यान बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा दिलाउनमा हुनुपर्छ ।' स्थानीय सरकार र शिक्षा क्षेत्रमा केही अन्तरविरोध देखा परे पनि त्यसलाई समन्वयात्मक ढंगलले सल्टाउनु पर्ने बताए ।
 
उनले आगामी वर्ष नेपाललाई पूर्ण साक्षर घोषणा गरिने बताउँदै अभियानको रुपमा तयारी गर्नुपर्नेमा जोड दिए ।
 
गाउँपालिका अध्यक्ष कमानसिं मोक्तानको अध्यक्षताम भएको उक्त कार्यक्रममा लखनपुरको कालिका मावि र भिमेश्वर मावि थापागाउँको निर्माण व्यवसायी खानी निर्माण सेवाका रत्न गौतमले जिल्ला अयाोजना कार्यान्वयन इकाई (शिक्षा) रामेछापका प्रमुख हेमन्तकुमार बुढाथोकीलाई हस्तान्तरण गरेका थिए । उक्त साँचो मन्त्री पोखरेलले गाउंपालिकाका अध्यक्षमार्फत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।
 
कालिका मावि ८ करोड ४२ लाख र भिमेश्वर मावि ६ करोड ५५ लाखको लागतमा पुनर्निर्माण भएको हो । ती विद्यालय निर्माणमा एसियाली विकास बैंकको सहयोग रहेको छ । विद्यालयमा फर्निचर, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला, अपांग र बालमैत्री शौचालयलगायतको सुविधा उपलब्ध छन् ।
 
काभ्रे जिल्ला सीमा जोडिएको लखनपुरको कालिका मावि भवनलाई सरकारले नमुनाको रुपमा विकास गर्ने कार्यक्रम अघि सारेको छ ।

 

प्रकाशित : माघ २, २०७५ १४:१२